खिया लागेको चाबी जस्तै छन् मेरा आँखा खुल्नै मान्दैनन्।
गर्मी यामकोे घामको रापले तात्दा अनि वर्षाको पानीले भिजाउँदा खिया लाग्यो होला चाबिमा
तर मेरा आँखामा लागेको खियाको कहानी अलि पृथक छ। सुकुनको निन्द्रा नै मेरा आँखाको खिया
हो जसको कारण हुनुहुन्छ मेरो बुबा।
आज त्यस खियालाई मुसाको कटर - कटर आवाजले खुलाउँदै छ। बल्ल
बल्ल आँखा खोलेर कताबाट आवाज आएको छ भनी कानलाई ठाडो बनाउँदै सुन्छु। तखतामा रहेको
सानो टिनको बाकस बाट आएको आवाजमा मेरो ध्यान जान्छ। म उठेर बत्ती बाल्दै बाकस तिर लाग्छु
मुसो खुरुरुर मुखमा कागजको टुक्रा च्यापेर भाग्छ।
बाकस खोलेर म बाकस भित्र रहेका कागजपत्र हेर्छु । बुबाले
पठाएका चिठीमा नजर जान्छ मेरो। पत्र खोलेर हेर्ने कौतुहलता जाग्छ म मा अनि बिस्तारै
बन्द चिठीलाई खोल्छु। चिठीमा लेखिएको रहेछ अब त छोरोले पनि चिठी पढ्न सक्ने भयो होला
भनेर। बुबा, म हजुरको आशाको किरण हूँ । यही त्यान्द्रोलाई एउटा टौवा बनाउनलाई हजुरले
आफ्ना नाङ्ग्रा अझै पनि खियाउँदै हुनुहुन्छ।
मेरो आवश्यकता पनि अनौठा थिए सानोमा। पिढीमा खुट्टा बजार्दै
धरधर आँखाबाट आँसुका थोपा हरु झार्दै अनि आफूलाई लडीबुडी खेलाउदै मलाई यो चाहियो भन्थे।
त्यही बेलुका मेरो हातमा मैले मागेको कुरा आइसक्थ्यो। मैले घोडा माग्दा आफू नै घोडा
बनेर मलाई घर भरि डुलाउनु हुन्थ्यो। त्यतिबेला बुबा हजुर मेरो संरक्षक मात्र हैन साथी
पनि हुनुहुन्थ्यो।
छुट्टीमा आउँदा मलाई ल्याइदिनु भएको झिलिमिली झोला याद आउँछ।
म त्यो झोला भिरेर स्कूल जाँदा लड्न लागेको थिए हजुरले मलाई उठाएर काखमा च्यापेर स्कुलमा
पुर्याउनु भएको थियो। म फेरि लड्छु भनेर मेरो बोझ वहन गर्न पछि नहट्ने मेरो बुबा हजुर
महान हुनुहुन्छ। जिन्दगीका हरेक पलमा मार्गदर्शन गर्दै शिक्षकको रुपमा खडा हुँदै मेरो
सक्षम र सबल भविष्यका निम्ति हजुर मेरो अघि हुनुहुन्छ।
दुःखका रेखाहरू साघुराउने क्रममा हजुरका अनुहारमा नि रेखा
बस्दै छन्। तिनै रेखाले मेरो बाटो देखाइरहेका छन् भनेर हजुरले मलाई सम्झाई रहनुहुन्छ
नि। तिनै सम्झाई र बुझाइका वाणी हरु सुनेर हुर्केको हूँ म। मेरो आत्मबल लाई बुबा हजुरका
वाणी र संघर्ष साथै आमाको अटुट मायाले टुट्न दिइरहेको छैन।
बुबा हजुर बिहान उठ्ने बित्तिकै रेडियोमा भजन बजाउँदा म पनि
हजुर सङ्गै भजनमा झुमिरहेको हुन्छु। हजुर सूर्यको तर्पण जनै समातेर अङ्खराले दिइरहँदा
म आफ्नो संस्कृति याद गरिरहेको हुन्छु। हजुर मेरो हजुरबुबाको खुट्टा ढोग्दा म संस्कार
सिकिरहेको हुन्छु। हजुर खानाको निवाला मुखमा नपर्दै हातमा लिएर पूजा गरी चराउदा म धर्म
सम्झिरहेको हुन्छु। हजुरका हरेक पल पल बाट मैले केही न केही ज्ञान लिइरहेको हुन्छु।
बुबा हजुरका दबिएका ईच्छा हरु खोतलेर नीकाल्नेछु। बुबा हजुरका
प्रयासहरुलाई म पूरा गर्नेछु। बुबा हजुरका बाध्यताका सुस्केराहरु लाई पूर्णविराम लाउने
छु एकदिन म।
संस्कृतमा श्लोक छ,
पिता स्वर्गः
पिता धर्मः पिता परमकं तपः ।
पितरि प्रीतिमापन्ने
सर्वाः प्रीयन्ति देवताः ॥
अर्थात मेरो पिता मेरो लाागि स्वर्ग हुनुहुन्छ, मेरो पिता
मेरो लागि मेरो धर्म हुनुहन्छ, उहाँ नै मेरो तपस्या हुनुहुन्छ , यदि उहाँ खुसी हुनुहुन्छ
सबै देवताहरु खुसी हुनुहुन्छ ।
राजदरबारमा राजकुमारले पाउने सुख दिएर मलाई यहाँसम्म पुराउनु
भयो। बुबा आउने दिनमा म पनि हजुरलाई राजाको जस्तो ताज, मानसम्मान र सुख प्रदान गर्न
सकूँ।
अहिले मैले लिइरहेको सूकुनको निन्द्रा आउने दिनमा हजुरलाई
पनि दिन सकूँ।
0 Comments