मानिसको मन अनौठो हुन्छ।बाहिरबाट शान्त देखिए पनि भित्र कतिवटा प्रश्न, कतिवटा भावना र कतिवटा कथा लुकेका हुन्छन्। सायद तिम्रो मनमा पनि त्यस्तै धेरै प्रश्नहरू थिए।ती प्रश्नहरूमध्ये एकदिन तिमीले मलाई हेर्यौ र निकै सहज तरिकाले सोध्यौ “What’s your love language?” त्यो प्रश्न सामान्य थियो। त्यो प्रश्नले उत्तर त पायो तर तिम्रो चाहेको उत्तर पाएन ।म केही समय चुप लागेर बसें।
सायद तिमीले सोचेकी थियौ “यो केटो किन यति चुप लाग्यो?” तर त्यो चुप्पीभित्र शब्दहरूको अभाव मात्र थिएन, त्यो चुप्पीभित्र भावना धेरै जोडिएका थिए।
म तिम्रो स्यानो केटो…सधैं धेरै कुरा मनमा राख्ने, तर बोल्न चाहिँ कहिलेकाहीँ ढिलो गर्ने। त्यो दिनको साँझ अलि फरक थियो। हावामा हल्का चिसोपन थियो र आकाशमा घाम अस्ताउँदै गर्दा सुनौलो रङ फैलिएको थियो। त्यो पलमा तिमीले सोधेको एउटा सानो प्रश्नले मेरो मनमा धेरै पुराना स्मृतिहरू खोलेर राख्यो।
म सोच्न थालेँ।माया भनेको आखिर के हो? के माया भनेको बारम्बार “I love you” भन्नु हो? कि माया भनेको हात समातेर हिँड्नु मात्र हो? सायद होइन। मेरो लागि माया अलि फरक छ। माया भनेको तिमी थाकेर आउँदा चुपचाप तिमीलाई हेरेर “आज धेरै काम भयो है?” भन्नु हो। माया भनेको तिमी दुखी हुँदा तिमीलाई केही भन्न नसके पनि तिम्रो छेउमा बसिरहनु हो। माया भनेको तिमीले सानो कुरामा हाँस्दा त्यो हाँसो देखेर आफ्नो दिन सुन्दर भएको महसुस गर्नु हो।
त्यसैले त्यो दिन म चुप लागें। किनकि मेरो love language शब्दमा सजिलै लेख्न सकिने कुरा होइन। मेरो love language साना क्षणहरूमा लुकेको छ।तिमीलाई सम्झेर अचानक मुस्कुराउनु, तिमीलाई केही भयो कि भनेर चिन्ता गर्नु, र तिमी खुशी रहोस् भनेर आफूले सक्ने सबै प्रयास गर्नु।
म तिम्रो स्यानो केटो…जसलाई संसारका धेरै कुरा थाहा नहुन सक्छ। तर एउटा कुरा चाहिँ मलाई राम्रोसँग थाहा छ जब तिमी हाँस्छौ, मेरो संसार उज्यालो हुन्छ। जब तिमी टाढा हुन्छौ, मेरो दिनहरू अलि खाली हुन्छन्। सायद यही नै मेरो प्रेमको भाषा हो।
त्यो दिन तिमीले सोधेकी थियौ “What’s your love language?” आज म शान्त भएर भन्न सक्छु। मेरो love language कुनै शब्द होइन, कुनै किताबको वाक्य होइन, कुनै कविता पनि होइन। मेरो love language तिमी हौ। र यदि कहिल्यै तिमीलाई लाग्यो कि म धेरै बोल्दिन, त्यो सम्झनु- म बोल्न नसके पनि मेरो मुटुको हरेक धड्कन तिम्रो नाम उच्चारण गरिरहेको हुन्छ।


0 Comments