Flag

  





Advertisement

Main Ad

अस्ति हास्न सिकायौ, हिजो रुन सिकायौ | यायावर शुशिल

Views
हृदयस्पर्शी ध्वनी गुञ्जायमान भएको भान हुन्छ। मर्मस्पर्शी शब्दहरुले मन मस्तिष्कमा हान्छन्। एकाएक उनको याद आउँछ। वर्षौ देखि भुलाएर राखेको थिए।
Photo by Luis Galvez on Unsplash

सडकको किनारमा उभिएको थिए म। काठमाडौ जाने हो भन्दै आवाज आउँछ मैले मुन्टो हलाउँछु। सुस्तरी आउँछ त्यही काठमाडौं पोखरा वाला बसको पछि लेखनाथ माइक्रो। मेरो अघि टक्क रोकिन्छ। एकछिन सोच्छु मास्क लाउँदा नि कसरी चिने मलाई भनेर। तर माइक्रो बाट एक महिला आफ्नो बच्चालाई काखमा च्याप्दै झर्छिन्। अनि म त्यस माइक्रो मा चढ्छु। करिब १३० दिन पछि माइक्रो बस चड्दै थिए। लाग्दै त्यो कता कता नयाँ ठाउँमा छु जस्तो। बन्दाबन्दीको प्रभावले होला मैले विगतका लोकल बसको यात्रा भुली सकेको रैछु। बस भित्र सोसियल डिस्टानसिङ बखुबी निभाइएको थियो। खचाखच भोरिने माइक्रो लगभग खाली नै देखिन्थ्यो। हरेक दुइटा सिट मा एक जनाको दरले मानिसहरू थिए। म वरिपरि हेर्छु सब भोरिएजस्तो देख्छु। कण्डक्टर ले दाई बसिदिनु न यत्रो खाली छ भन्दै चर्को चर्को आवाजमा चिच्याउछन। म केही नबोली अलि पछि गएर उभिन्छु। 

बसको गतिमा हल्का परिवर्तन आउँछ। अनि ड्राइभर दाईले गीत घनकाउन थाल्छन्। ४-५ वटा गीत लगातार फेर्छन् अनि रोकिन्छन्। स्याक्सोफोन को धुन बज्छ। सधैं झैं मेरो ध्यान बसमा हुँदा बसमा भएका अरू पेसेन्जर तिर गएन। गीत तिर गयो आज। स्याकसोफोन को आवाजले मलाई खिचिरहेको थियो। के गीत होला भन्ने कौतुहलता मनमा छाउन थाल्यो। त्यस्तै ४०-५० सेकेन्ड धुन बज्छ अनि सुरिलो आवाजमा गीत गुन्जिन्छ।

"अस्ति हास्न सिकायौ हिजो रुन सिकायौ धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायौ।"

हृदयस्पर्शी ध्वनी गुञ्जायमान भएको भान हुन्छ। मर्मस्पर्शी शब्दहरुले मन मस्तिष्कमा हान्छन्। एकाएक उनको याद आउँछ। वर्षौ देखि भुलाएर राखेको थिए। आज एक गीत ले मेरो विगतका पलहरु नै ताजा बनाएर मनसपटलमा उनका तस्वीरहरु छरपस्ट छिरोलिदिन्छ। आँखाहरू बर्खा याम का खेतजस्तै हुन्छन् टिलपिल। हावाको वेगले पनि बाहिर निकाल्न खोज्छ पानीलाई। त्यस्तै मनमा हुरी चल्दै थियो। कति बेला मनको हुरीले भोरिएका आँखाको पानीलाई आँसुको रूप दिएछ पत्तै पाईन। मास्क लगाएकाले आँखाबाट आँसुका थोपा मास्कको कपडामा जान्थे अनि बलौटे माटोमा पानी सोसिएजसरी मास्कको कपडामा सोसिन्थे आँसुका ढिका हरु। 

अशान्त मनले राहातको सास फेर्ने कहिले हो अत्तोपत्तो थिएन तर उभिरहेको मैले भने खुट्टालाई राहातको सास फेर्ने मौका पाए जब एक व्यक्ति म लाई इंगित गर्दै भाइ यहाँ खाली छ बस भने। म बस्ने पनि दिनको स्वरूप बदलिने पनि भयो। सूर्यको प्रकाशलाई बादलका झुण्ड हरुले एकाएक घेरिदिएछन् अन्धकार छाएझै भयो। मनको अन्धकारलाई उज्यालो दिने सोचमा पुग्न खोज्ने क्रममा म आफूलाई त्यही सूर्य जस्तो महसुस गर्दै थिए अनि ती यादलाई बादलका झुण्ड। बिस्तारै बादललाई चिर्दै सूर्यले आफ्नो पहिचान फेरी दिन्छन् तर म मेरो सोच रूपी बादललाई चिर्नै सकिरहेको थिइन। उतिखेर हासेका पलहरु याद गर्दथे। फेरि बिछोडका क्षणहरु एकाएक हाबी हुन्थे अनि पागल जसरी चिच्चाउन मन लाग्थ्यो। बाहिर बाट मास्क थियो अनि भित्र दाँत मस्को जस्तै काम गरेका थिए दाँतले पनि। मास्कले धुवाँधुलो अनि भाइरस बाट बचाएजस्तै बन्द कीटिरहेका दाँतले मेरो क्रन्दन लाई छिपाइरहेका थिए। बाहिर निस्किन बाट बचाइरहेका थिए। 

पकेटबाट मोबाइल निकाल्छु अनि त्यो नम्बर जुन भुल्नलाई अझै सकिरहेको थिइन (नम्बर त भुल्न सकेको थिइन उनका याद कसरी भुल्न सक्थे र) किप्याड मा डायल गर्छु ९८........। हरियो बटनमा रहेको सेतो फोनको चित्रले हान भन्दै थ्यो तर आगोको गोला बनेको रातो मनले रोकिदियो। अस्तिको हासोलाई सम्झेर हिजोको रुवाइलाई सम्झेर आजको पागलपनको औषधि खोज्नु मूर्खता हो भन्दै एक मनले अर्को मनलाई सम्झाउन थाल्यो। 

बसको सिटबाट जुरुक्क उठ्छु अनि दाई भन्छु कसैले सुन्दैन मास्क निकाल्छु फेरी चर्को आवाजमा दाई भन्छु अहिले पनि कसैले सुन्दैन मेरो सिधा सिटमा भएको ले इसारा गर्दै भन्छ रोक्दिने हो भनेर। मैले मुन्टो हल्लाउँछु।मन र मस्तिष्कमा रहेका यादलाई बिर्को लाउन पर्ने थियो तर आवाजलाई नै बिर्को लगाइदियो यो पापी समयले।

Post a Comment

0 Comments