Advertisement

आमाको मायाको वजन | यायावर शुशिल

Views
हिड्ने बेलामा आमालाई सोधे आमा कस्तो देखिएको छु। जवाफमा आमाले भन्नु भयो तेरो बिहे गर्ने बेला भएछ भनेर।

म फिस्स हासेर म गए है भन्दै हिँडे। २ घण्टा लामो यात्रा भरि सोचे आमाले जिस्काउदै भन्नु भएको या साच्चै भन्नु भएको भनेर। आमाको चाउरी परेको अनुहार याद आयो अब त बुढी हुँदै जानु भएछ आमा भन्ने भान भयो। आखिर दुःखमा रेखा हरु जो थिए अनुहारमा प्रष्ट जो देखिन्थे। 

अघिल्लो पटक आउँदा आमाले सोध्नु भएको थियो बाबु तैंले किन ऐना हर्दैनस हिड्ने बेलामा। मैले भनिदिएको थिए त्यो ऐना ले देखावटी छवि देखाउँछ तरा आमा हजुरले मेरो यात्राको आकृति देख्नु हुन्छ नि त। 

खाना पस्किदै हुनु हुन्थ्यो आमा अनि म गएर गुन्द्री तानेर बसे अनि खाना खान थाले । आमाले प्रश्न गर्नुभयो कस्तो छ बाबु मिठो छ भनेर । (रिसाउँदै) अलि के नपुगे नपुगे जस्तो छ मेरो जवाफ यही थ्यो। खाउ बाबु तिम्रो आमालाई यहाँ भन्दा मिठो बनाउन आउन्न , मिठो मानेर खाउ भन्नु भयो। आखिर रिसाएर जितिने त आमासँग मात्र हो बाकी दुनियाँसँग त मुस्कुराउनु पर्दछ अनि मात्र जीत सम्भव हुन्छ।

छेउमा सुतेकी एउटी महिला देखेर आमा अस्ति हजुरले देखेको सपना पछि आत्तिँदै मलाई फोन हान्नु भएको याद आउँछ अनि मैले सब ठीक छ पिर नगर्नु भनेपछि शान्तको लामो सास फेर्दै भन्नु भएको थियो छोरा सपनाहरु साँचो हुन्छन् कि भन्ने डर लाग्छ। हजुरकै सपना पूरा गर्न त आएको नि यहाँ सम्म भन्दै भन्छु। 

चिसो हावा झ्यालबाट आउँछ बसको अनि हुरी लाग्दा छत समाती बसेकी आमाको याद आउँछ। आमाले त्यति बेला भन्नु भएको थियो बाबु ठूलो घर बनाऊ है तिम्ले भनेर म मुन्टो हालाउँदै हस् भनेको याद छ।

जब कण्डक्टर ले पैसा उठाउँदै आउँछ म पकेटबाट पर्स निकाल्छु अनि दिन्छु अनि फेरि आमालाई नै सम्झन्छु। ती कामले खिर्इएका हातले पैसा निकाल्दै बाबु खर्च नगर है फजुलको भनेको याद गर्छु।

सानोमा सुत्ने बेलामा कथा सुनाउँदै भन्नु हुन्थ्यो नि आमा जिन्दगी कथा जस्तै हो बेला बेलामा नयाँ पात्र आउँछन् अनि बनीहरेको कहानीको रूप नै मोडिदिन्छन् भनेर।

धेरै बेरसम्म हाम्रो अघि एउटा बस अघिअघि हिँडिरहेको थियो। म अघिको क्याबिनको नजिकको सिटमा थिए। मेरो नजर बसमा लेखेको लेखमा पर्यो। " आमाका लागि के लेखु, आखिर आमाले नै मलाई लेखेकी हुन जन्म दिएर।" एकछिन आमाको बारेमा सोचिरहेको म आमाको बारेमा किन सोचु, आखिर आमाको सोच नै म हुँ भन्ने मा पुग्छु। तर पनि सोचिरख्ने मन, बहिराख्ने हावा र बगिराख्ने खोलालाई रोकेर नि कहाँ सकिन्छ र रोक्न।

म बिरामी भएको बेलामा सँगै रोइदिने हजुर अनि मेरो ज्वरो काम गर्न पानी पट्टी सँगै आँसुका थोपा हरु मिसाउने हजुर नै हो। अहिले पनि जब बिरामी हुँदा सिटामोल का चककीहरु पानी सङ्ग लिन्छु नि हजुरको आँशु पनि सँगै खाए जस्तै लाग्छ। 

बस गीत घन्काउँदै गन्तव्यस्तल तर्फ लम्किरेको हुन्छ। म सोचमा मग्न हुन्छु। यत्तिकैमा गीतको आवाज मेरो कानमा गुन्जिन्छ।
"कसरी व्यक्त गरौ? म यी मेरा भावना
सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा
जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया "
साच्चै आमा मेरो भावना अनि मेरो मस्तिष्कले सधैं तिम्लाई खुसी राख्ने सोच्छ। 

झरी मा भिज्न मन पराउने मलाई बाहिर गएर आएसि गाली गर्दै भन्नु हुन्थ्यो भनेको मान्दैनौं बच्चाजस्तै छौ भनेर। आमा जब हजुरको माया अनि ममता साथमा हुँदा बच्चाजस्तै भान हुन्छ मलाई। 

यो हृदय मात्र एउटा यस्तो चिज हो जस्ले आमाको मायाको वजन वहन गर्न सक्छ। 

आमा त्यो चाउरी परेको अनुहार, त्यो ऐना, त्यो खाना, त्यो सपना, ती फुटेका हात, ती कहानी, त्यो बिरामी हुँदाको पल, ती गालीहरुको वजनले नै हजुरको मायाको वजनलाई अझै प्रगाढ बनाएका छन्।

Post a Comment

1 Comments